९ जेष्ठ २०८२ , शुक्रबार

नेपालगञ्जमा मेयर कप ब्याडमिन्टन प्रतियोगिता सुरु

News
९ जेष्ठ, काठमाण्डौँ ।

पूर्वखेलाडीहरुको सक्रियतामा नेपालगञ्जमा आजदेखि प्रथम नगरस्तरीय ‘मेयर कप’ ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ।

पूर्वखेलाडी समाज बाँकेको आयोजना र नेपालगञ्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा सुरु भएको ब्याडमिन्टन प्रतियोगिताको नगर प्रमुख प्रशान्त विष्टले उद्घाटन गर्दै नेपालगञ्ज खेलाडीहरुको उर्वर भूमि भएको बताए। उनले नयाँ खेलाडी उत्पादनका लागि पूर्वखेलाडी समाजको कदम सराहनीय रहेको भन्दै प्रतियोगितालाई निरन्तर रुपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। खेलाडी उत्पादन गर्ने प्रमुख थलो विद्यालय भएकाले विद्यालयस्तरबाटै खेलकुदमा लगानी गर्न पालिकाले प्रयास गरिरहेको नगरप्रमुख विष्टको भनाइ छ।

समाजका कार्यवाहक अध्यक्ष निजामुद्दिन सिद्दिकीले खेलकुदमा योगदान दिएका पूर्वखेलाडीलाई एकीकृत गर्दै खेल क्षेत्रको संवद्र्धन र विकास गर्ने उद्देश्यले गत वर्ष पुसमा पूर्वखेलाडी समाज बाँके गठन गरिएको जानकारी दिए। उनले आगामी दिनमा समाजलाई थप क्रियाशील बनाउँदै लैजाने बताए।

समाजले नेपालगञ्ज रङ्गशालास्थित कभर्डहलमा यु–१५ ब्वाइज सिङ्गल र मेन्स डबल बी लेबल ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको हो। प्रतियोगितामा ब्वाइज यु–१५ तर्फ ३७ जना र मेन्स डबल्सतर्फ ३२ टोलीको सहभागिता रहेको प्राविधिक प्रमुख जयन्तकुमार श्रेष्ठले जानकारी दिए। ब्वाइज यु–१५ तर्फ प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु १० हजार, रु पाँच हजार र रु दुई हजार ५०० तथा मेन्स डबल्समा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु २० हजार, रु १० हजार र रु पाँच हजार नगद पुरस्कार प्रदान गरिने छ। समाजले यही जेठ १६ देखि १८ गतेसम्म विद्यालयस्तरीय महिला एवं पुरुष भलिबल प्रतियोगिता पनि आयोजना गर्दैछ। प्रथम, द्वितीय र तृतीय हुने टोलीलाई क्रमशः रु २० हजार, रु १५ हजार र रु १० हजार पुरस्कार प्रदान गरिनेछ।