जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा जारी ‘दोस्रो बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२’ अन्तर्गत आजदेखि खुला राष्ट्रिय टेबलटेनिस र बुद्धिचाल प्रतियोगिता सुरू भएको छ। खेलकुदको माध्यमबाट खोटाङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन, पर्यटकीय जिल्लाको रुपमा अघि बढाउन, खेलकुदलाई जिल्लाको गौरवको आयोजना बनाउन र सन् २०५० भित्र ओलम्पिक पदक जित्ने विभिन्न विद्याका खेलाडी जिल्लामै उत्पादन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो।
दिक्तेल बजारस्थित खोटाङ बहुेउद्देश्यीय कभर्डहलमा टेबलटेनिस तथा जिल्ला समन्वय समिति खोटाङको सभाहलमा बुद्धिचाल प्रतियोगिता आयोजना गरिएको छ। खुला राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा ५२ तथा बुद्धिचाल प्रतियोगितामा ४१ जना राष्ट्रिय तथा अन्तरराट्रियस्तरका खेलाडी सहभागी रहेको संयोजनकर्ता जिल्ला बुद्धिचाल सङ्घ खोटाङका अध्यक्ष सूर्य तामाङले जानकारी दिए।
कोशी प्रदेश खेलकुद विकास समितिका सदस्य सचिव पर्शुराम बस्नेतले महोत्सवको दोस्रोचरणमा आयोजना गरिएको प्रतियोगिताको उद्घाटन गरेका छन्। खुला सिनियर पुरुष टेबलटेनिस प्रतियोगिताअन्तरगत प्रथम, द्धितीय र सेमिफाइनलिष्टले क्रमशः नगद रु २५ हजार, रु १२ हजार ५०० र सेमिफाइनलिष्ट दुई जनाले रु छ हजार २५० का दरले पुरस्कार प्राप्त गर्नेछन्।
यस्तै, खुला जुनियर पुरुष टेबलटेनिसमा प्रथम, द्धिर्तीय र सेमिफाइनष्टिले क्रमशः रु १५ हजार, रु सात हजार ५०० र सेमिफाइनलिष्ट दुईजनाले रु तीन हजार ७५० का दरले नगद प्राप्त गर्नेछन्। खुला जुनियर महिला टेबलटेनिस प्रतियोगितामा प्रथम, द्धितीय र तृर्तीय हुनेले रु दश हजार, रु पाँच हजार र सेमिफाइनष्टिले दुईजनाले क्रमशः रु दुई हजार ५०० का दरले नगद पुरस्कार प्रदान गरिने नेपाल खेलकुद प्रतिष्ठान खोटाङका अध्यक्ष सञ्जयकुमार राईले जानकारी दिए।
यस्तै, खुला महिला/पुरुष टेबलटेनिस प्रतियोगितामा प्रथम, द्धितीय र सेमिफानलिस्ट हुने प्रतियोगीले क्रमशः रु २५ हजार, रु १२ हजार ५०० र सेमिफाईनलिस्ट दुईवटा टिमले जनही रु छ हजार ५०० को साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ। खुला राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा प्रथम, द्धितीय, तृर्तीय, चौँथो, पाँचौँ र छैटौँ हुनेले क्रमशः नगद रु २५ हजार, रु १५ हजार, रु दश हजार, रु आठ हजार, रु सात हजार र रु चार हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्। महोत्सवको अन्तिम दिन अर्थात् आगामी जेठ–४ गते साहित्यिक (गीत, गजल र कविता गायन तथा वाचन) कार्यक्रम राखिएको आयोजकले जनाएको छ।
वैशाख–२७ गतेबाट सुरु भएको महोत्सवअन्तरगत पहिलो दिन आयोजना गरिएको खुला महिला/पुरुष हाफ म्याराथनको उपाधि नेपाली सेनाका पूर्णलक्ष्मी न्यौपाने र सञ्जय श्रेष्ठले जितेका छन्।
महोत्सवमा ६३ वटा पदकका लागि १३ वटा इभेन्टमा एथ्लेटिक्स विद्याका खुला महिला/पुरुष हाफ म्याराथनसहित खुला दौड, खुला महिला/पुरुष टेबलटेनिस, खुला पुरुष बुद्धिचाल र साहित्यिक प्रतियोगिता आयोजना गरिएको छ। महोत्सवका लागि जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ।
महोत्सवका लागि रु ३९ लाख ५५ हजार ८७ बजेट लाग्ने अनुमान गरिएको सहआयोजक नेपाल सितोरियो कराँते सङ्घ खोटाङका अध्यक्ष सुमन राईले जानकारी दिए।