भारतको तेलङ्गाना राज्यस्थित एक औषधि कारखानामा सोमबार भएको भीषण विस्फोट र आगलागीमा मृत्यु हुनेको सङ्ख्या कम्तीमा ३६ पुगेको छ। उक्त घटनामा करिब तीन दर्जन व्यक्ति घाइते भएका छन्।
राज्यको राजधानी हैदराबादबाट करिब ५० किलोमिटर टाढा रहेको औद्योगिक क्षेत्रमा भएको दुर्घटनास्थलबाट दमकलकर्मीहरूले ३४ जना कामदारका जलेका शव फेला पारेका राज्यका दमकल सेवा निर्देशक जी.भी. नारायण रावले बताए। अन्य दुई कामदारको जलेको अवस्थामा मृत्यु भएको र उनीहरूलाई अस्पतालमा मृत घोषित गरिएको उनले जानकारी दिए। थप कामदारहरू फसेका छन् कि छैनन् भनेर पत्ता लगाउन सिगाची इन्डस्ट्रिजको नष्ट भएको औषधि एकाइको भग्नावशेष हटाउने काम भइरहेको उनले बताए।
घाइते करिब तीन दर्जन कामदारलाई अस्पतालमा भर्ना गरिएको छ। रावका अनुसार कारखानाको स्प्रे ड्रायर युनिटमा सोमबार विस्फोट र त्यसपछिको आगलागी भएको थियो, जुन कच्चा माललाई औषधि बनाउनका लागि फाइन पाउडरमा प्रशोधन गर्न प्रयोग गरिन्छ।
राज्यका स्वास्थ्यमन्त्री दामोदर राजा नरसिंहले विस्फोट हुँदा कारखानाभित्र एक सय आठ कामदार रहेको जानकारी दिए। शवहरू नराम्ररी जलेको र विकृत भएकाले डिएनए परीक्षण गर्न विशेष मेडिकल टोली तैनाथ गरिएको छ। राज्य सरकारले घटनाको कारण अनुसन्धान गर्न प्यानल गठन गरेको नरसिंहले बताए। प्रत्यक्षदर्शीहरूले घटनास्थलबाट केही किलोमिटर टाढाबाट विस्फोटको आवाज सुनेको बताएका छन्।
भारत विश्वका केही शीर्ष औषधि कम्पनीहरूको घर हो। औषधि कम्पनीहरूले जेनेरिक औषधि र खोपहरूको विश्वव्यापी आपूर्तिमा महत्त्वपूर्ण भूमिका खेल्छन्। देशको बलियो उत्पादन र लागत प्रभावी उत्पादनले यसलाई फार्मा दिग्गजहरूका लागि केन्द्र बनाएको छ। विशेष गरी रासायनिक रिएक्टरहरूसँग सम्बन्धित औद्योगिक दुर्घटनाहरू त्यस्ता कारखानाहरूमा असामान्य छैनन्। यसले सार्वजनिक स्वास्थ्यका लागि महत्त्वपूर्ण क्षेत्रमा कडा सुरक्षा प्रोटोकल र नियामक निरीक्षण लागू गर्न अधिकारीहरूको आवश्यकतालाई जोड दिन्छ।
कम्पनीको वेबसाइट अनुसार सिगाची इन्डस्ट्रिज लिमिटेड सक्रिय औषधि सामग्री, मध्यवर्ती र भिटामिन–खनिज मिश्रणहरूसँग सम्बन्धित एक भारतीय कम्पनी हो। यसका भारतभर पाँच उत्पादन सुविधा र अमेरिका र संयुक्त अरब इमिरेट्समा सहायक कम्पनीहरू छन्।