२४ फाल्गुन २०८२ , आईतवार

प्रतिनिधि सभा सदस्य निर्वाचनः तयारी ८०–९० प्रतिशत पूरा, आयोग र गृहमन्त्रालयबीच समन्वय

News
४ माघ, काठमाण्डौँ ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले फागुन २१ गतेका लागि तय प्रतिनिधि सभा सदस्य निर्वाचन कार्यतालिका अनुसार काम नियमित रूपमा अघि बढिरहेको बताउनुभएको छ। आयोगबाट स्वीकृत कार्यतालिकाअनुसार माघ २ गते सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको र तयारीका हिसाबले ८०–९० प्रतिशत काम पूरा भइसकेको उहाँले जानकारी दिनुभयो।

निर्वाचन आयोगमा शनिबार गृहमन्त्री ओमप्रकाश अर्यालसँग भएको छलफलमा भण्डारीले आयोगले प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य निर्वाचनको दुवै तयारी एकसाथ अघि बढाएको बताउनुभयो। उहाँले निर्वाचन आचारसंहिता पालनालाई प्रभावकारी बनाउने र सूक्ष्म अनुगमन गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

गृहमन्त्री अर्यालले निर्वाचन सुरक्षा प्रत्याभूतिमा सरकारले कुनै कमी हुन नदिने र मन्त्रालय तथा आयोगबीच समन्वय थप प्रभावकारी बनाउने विश्वास दिलाउनुभयो। उहाँले भन्नुभयो, “निर्वाचन तयारी, मतदान प्रक्रिया र मतगणनासम्मको एकीकृत सुरक्षा योजना अनुसार सुरक्षाको प्रत्याभूति सरकारको तर्फबाट हुनेछ।”

आयोगका सचिव कृष्णबहादुर राउतले आयोगले समानुपातिक निर्वाचनका लागि ६१ लाखभन्दा बढी मतपत्र छपाइ सकेको र प्रत्यक्षतर्फको मतपत्र छपाइ प्रक्रिया पनि छिटै सुरु हुने जानकारी दिनुभयो। राष्ट्रिय सभा सदस्य निर्वाचनमा १८ मध्ये एक जना निर्विरोध भइसकेको र बाँकी १७ जनाका लागि चुनाव हुने उहाँले बताउनुभयो।

उहाँले निर्वाचन सामग्री खरिदको प्रक्रिया जिल्ला कार्यालयहरूलाई हस्तान्तरण गरिएको र सोहीअनुसार काम भइरहेको जानकारी समेत दिनुभयो। राउतका अनुसार प्रत्यक्षतर्फको उम्मेदवारी माघ ९ गते टुङ्गो लागेसँगै मतपत्रको डिजाइन स्वीकृत भई छपाइ प्रक्रिया सुरु हुनेछ।