१५ कार्तिक २०८२ , शनिबार

हरिबोधिनी एकादशीः नारायण मन्दिरमा भक्तजनको घुइँचो, विशेष मेला सुरु

News
१५ कार्तिक, काठमाण्डौँ ।

हरिबोधिनी एकादशीको अवसरमा देशभरका नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। काठमाडौँ उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायण, काठमाडौँका शेष नारायण र इचङ्गुनारायणसहितका मन्दिरमा भक्तजनको उपस्थिति उच्च छ।

आज मन्दिरमा विशेष मेला लागेको छ। नागार्जुन–७, रामकोटस्थित बद्रीनारायण धामतनहुँ, व्यास–९, सिद्धेश्वर राजापानी महादेव मन्दिरमा समेत मेला सञ्चालन भएको छ।

काठमाडौँ उपत्यकाका चार नारायणस्थानमा प्रत्यक्ष दर्शन गर्न नसक्ने भक्तजनले बूढानीलकण्ठ नारायणस्थान र नारायणहिटीको चातुवर्तयूह मन्दिरमा दर्शन गरे बराबरको फल प्राप्त हुने विश्वास गरिन्छ। यी दुवै मन्दिरमा शेषशायी भगवान् नारायण विराजमान हुनुहुन्छ।बूढानीलकण्ठ नारायणस्थानमा ठूलो ढुङ्गामा निर्मित हरि भगवान्को मूर्ति विश्वमा अनौठो मानिन्छ। वर्षभर केवल आजै दर्शनार्थीको उच्च भीड हुने भएकाले मन्दिर व्यवस्थापन समितिले विशेष व्यवस्था गरेको छ। बूढानीलकण्ठ मन्दिरमा आजदेखि कार्तिक शुक्ल पूर्णिमासम्म विशेष मेला लाग्ने छ।

हरिबोधिनी एकादशी पर्व कात्तिक शुक्ल एकादशीमा मनाइन्छ। यस दिन तुलसीको दामोदरसँग विवाह र विशेष पूजाको परम्परा अनुसार भगवान् विष्णुको प्रतीकको रूपमा पूजा गरिन्छ। आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा सुतेका विष्णु आजको दिन ब्युँझिने भएकाले यस दिनलाई हरिबोधिनी एकादशी भनिएको हो।

चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गरेपछि आज दामोदरसँग तुलसीको विवाह गर्ने परम्परा छ। तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसी र दामोदरसँग विवाह गर्दै विधिपूर्वक पूजा गरिन्छ। कार्तिक महिनाभर सबै देव–देवी तुलसीमै निवास गर्ने धार्मिक विश्वास रहेको छ।