३१ जेष्ठ २०८२ , शनिबार

हुम्लामा बालिका बेपत्ता, खोजी जारी

News
२८ जेष्ठ, काठमाण्डौँ ।

हुम्लाको सिमकोट गाउँपालिका–७ धारापोरी गाउँकी एक बालिका तीन दिनदेखि बेपत्ता भएकी छन्। यही जेठ २६ गते पाँच जना साथीहरूसँग खेल्न गएकी सुनसरी सिंह बेपत्ता भएको बुबा देवी सिंहले बताए। विद्यालयदेखि फर्केपछि घरमा खाजा खाएर साथीहरूसँग खेल्न गएकी सुनसरी राति अबेरसम्म घर नफर्केपछि खोजी गर्दा भेट्टाउन नसकेको बुबा सिंहले बताए।

परिवारका सदस्य र स्थानीयले खोजी गर्दा नभेटिएपछि २७ गते बिहान प्रहरीलाई खोजतलासका लागि आग्रह गरेको उहाँले बताए। बेपत्ता बालिकाको खोजीका लागि जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक जेवी सिंहको नेतृत्वमा सिमकोटबाट तीन जना र धारापोरी प्रहरीचौकीको टोली खटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले बताए। बेपत्ता बालिका कर्णाली माध्यमिक विद्यालय कक्षा ४ मा अध्ययनरत थिइन्।