नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्विरोध निर्वाचित हुनुभएको छ। काठमाडौँमा जारी विशेष महाधिवेशन पक्षधरको दोस्रो विशेष महाधिवेशनबाट सभापति पदमा थापाको मात्र उम्मेदवारी परेकाले उहाँ निर्विरोध निर्वाचित भएको केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले घोषणा गर्नुभयो।
निर्वाचन परिणाम घोषणा गर्दै संयोजक केसीले सभापति पदमा एक मात्र उम्मेदवारी दर्ता भएकाले गगन थापालाई निर्विरोध निर्वाचित घोषणा गरिएको स्पष्ट गर्नुभयो। निर्वाचित भएपछि सभापति थापाले विशेष महाधिवेशनस्थलमा उपस्थित नेता, कार्यकर्ता र शुभेच्छुकहरूलाई सम्बोधन गर्दै आफूलाई दिएको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
नवनिर्वाचित सभापति थापाले पार्टीका कुनै पनि नेता तथा कार्यकर्ताको शिर निहुरिने अवस्था आउन नदिने दृढ अठोट व्यक्त गर्दै नेपाली कांग्रेसको गरिमा जोगाउने र नागरिकलाई संकटमा पार्टीको उपस्थितिको अनुभूति गराउने बताउनुभयो। उहाँले नेपाली कांग्रेसलाई सबै नागरिकको साझा पार्टीका रूपमा स्थापित गर्ने लक्ष्य लिएको उल्लेख गर्नुभयो।

सभापति थापाले विशेष महाधिवेशनलाई कांग्रेसको इतिहास मात्र होइन, आधुनिक नेपालको राजनीतिक इतिहासमै भुइँ तहका कार्यकर्ताले गरेको महत्वपूर्ण हस्तक्षेपका रूपमा व्याख्या गर्नुभयो। उहाँका अनुसार भुइँ तहका कार्यकर्ता भनेका नागरिक स्वयं भएकाले यो परिवर्तन नागरिकको हस्तक्षेपको परिणाम हो।
भृकुटीमण्डपमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले पार्टी आजदेखि सबै प्रकारका परिवारवाद र गुटबाट मुक्त भएको घोषणा गर्नुभयो। उहाँले अब कांग्रेसभित्र कुनै पनि गुट नरहने र सबै नेता–कार्यकर्ता समान हुने स्पष्ट पार्नुभयो।

यसैबीच, विशेष महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिको नाम पनि सार्वजनिक गरिएको छ। उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल, महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे निर्वाचित हुनुभएको छ। सहमहामन्त्री तथा विभिन्न समावेशी समूह र प्रदेशतर्फका केन्द्रीय सदस्यहरू पनि सर्वसम्मत र निर्विरोध चयन भएका छन्।
घोषित केन्द्रीय कार्यसमितिका सभापति गगन थापाले आजै निर्वाचन समितिका संयोजक सीताराम केसीसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ भने अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रम आजै दिउँसोका लागि तय गरिएको निर्वाचन समितिले जनाएको छ।