काठमाडौं महानगरपालिका-३० ज्ञानेश्वरस्थित भगवती ईन होटलबाट प्रहरीले ६५.९३ ग्राम कोकिनसहित पाँच जनालाई पक्राउ गरेको छ।
लागु औषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरी टोलीले होटलको तेस्रो तलाको कोठामा बसेका उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१२ का दिनेस चालिसे, नवलपरासी रामग्राम नगरपालिका-४ का सतेन्द्र बहादुर भट्ट, सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका-२ कि आयुषा श्रेष्ठ, सप्तरी विष्णुपुर गाउँपालिका-४ का प्रकाश यादव र ललितपुर ललितपुर महानगरपालिका-५ का सुब्रत अधिकारी रहेका छन्।
उनीहरूको साथबाट कोकिन जस्तो देखिने धुलो पदार्थ ६५.९३ ग्राम, विभिन्न कम्पनीका ५ थान मोबाइल, तौल गर्न प्रयोग हुने १ थान इलेक्ट्रिक तराजु, लागु औषध LSD जस्तो देखिने ३ थान पदार्थ, १ थान Vespa स्कुटर, ३९ हजार नेपाली रुपैयाँ र लागु औषध प्याक गर्न प्रयोग गरिएको सानो प्याकिङ प्लास्टिकहरू बरामद गरिएको छ। पक्राउ परेकाहरूमाथि लागु औषध कारोबार सम्बन्धी मुद्दा चलाउन प्रहरीले अदालतबाट १० दिनको म्याद थप गरेको छ।