६ माघ २०८२ , मंगलवार

नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई निर्वाचन आयोगको वैधता, सभापतिमा गगन थापा

News
३ माघ, काठमाण्डौँ ।

निर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई वैधानिक तथा आधिकारिक मान्यता प्रदान गरेको छ। आयोगको यस निर्णयसँगै नेपाली कांग्रेसभित्र लामो समयदेखि चल्दै आएको रूपान्तरण र नेतृत्व परिवर्तनसम्बन्धी बहस औपचारिक रूपमा निष्कर्षमा पुगेको छ। यससँगै नेपाली कांग्रेसको नेतृत्व दोस्रो पुस्तामा प्रवेश गरेको छ।

‘कांग्रेस बदल्नका लागि, बदलिएको कांग्रेसमार्फत देश बदल्नका लागि’ भन्ने नाराका साथ नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन भदौ २७ देखि ३० गतेसम्म काठमाडौँमा सम्पन्न भएको थियो। उक्त महाधिवेशनले पार्टीको नेतृत्व, नीति र विधानमा महत्त्वपूर्ण परिवर्तनका निर्णय गरेको थियो। यसअघि कांग्रेसको पहिलो विशेष महाधिवेशन २०१४ जेठ १० र ११ गते विराटनगरमा सम्पन्न भएको थियो।

इतिहासमा फर्किँदा, २०१२ माघ ९ देखि १३ गतेसम्म सम्पन्न छैटौँ महाधिवेशनबाट सभापतिमा निर्वाचित संस्थापक नेता सुवर्णशमशेर राणाले पहिलो विशेष महाधिवेशनमार्फत बिपी कोइरालालाई पार्टी नेतृत्व हस्तान्तरण गर्नुभएको थियो। सोही एकताको आधारमा कांग्रेसले २०१५ को आमनिर्वाचनमा १०९ सिटमध्ये ७५ सिट जित्दै दुई तिहाइ बहुमत हासिल गरेको थियो।

यस पटक, कुल दुई हजार ४८८ जना अर्थात् ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै गत असोज २९ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा निवेदन दिएका थिए। तर निवर्तमान केन्द्रीय कार्यसम्पादन समितिले पुस १८ गतेको बैठकमार्फत २०८३ वैशाख २८ देखि ३१ गतेसम्म १५औँ महाधिवेशन गर्ने निर्णय गरेपछि तत्कालीन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन प्रक्रिया अघि बढाएका थिए। निवर्तमान सभापति शेरबहादुर देउवा पक्षको अनुपस्थितिमै विशेष महाधिवेशन सम्पन्न भएको थियो।

कांग्रेसलाई एकताबद्ध बनाउँछु : सभापति थापा

निर्वाचन आयोगको निर्णयपछि प्रतिक्रिया दिँदै नवनिर्वाचित सभापति गगनकुमार थापाले विशेष महाधिवेशनमा सहभागी भएका र नभएका सबै नेता तथा कार्यकर्तालाई एकताबद्ध बनाएर पार्टी अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले कांग्रेसलाई साझा दृष्टिकोण, विधि र विधानका आधारमा अघि लैजाने बताउनुभयो।

शुक्रबार जारी विज्ञप्तिमा सभापति थापाले कांग्रेस अब एकाकार भएर आगामी निर्वाचनमा होमिने स्पष्ट पार्दै पार्टीमा कुनै गुट नरहेको र गुटगत भागबन्डा नहुने प्रस्ट पार्नुभएको छ। उहाँले पार्टी सदस्यदेखि सभापतिसम्म सबैको समान हैसियत रहने उल्लेख गर्नुभयो।

सभापति थापाले कांग्रेस आममानिसको सार्वजनिक पुँजी भएको उल्लेख गर्दै लोकतन्त्र, समुन्नति र परिवर्तन चाहने देशभित्र र बाहिर रहेका शुभेच्छुकजनलाई साथ दिन आग्रह गर्नुभएको छ। उहाँले विशेष महाधिवेशनमार्फत कांग्रेसले विगतका कमजोरीमाथि आत्मालोचना गर्दै समयअनुसार आफूलाई रूपान्तरण गरेको दाबी गर्नुभयो।

आयोगको निर्णय अमान्य : देउवा पक्ष

यसैबीच, कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगको निर्णय अमान्य रहेको प्रतिक्रिया दिनुभएको छ। उहाँले आयोगको निर्णय संविधान, राजनीतिक दलसम्बन्धी कानुन तथा पार्टी विधानविपरीत रहेको दाबी गर्दै यसविरुद्ध राजनीतिक तथा कानुनी संघर्ष गर्ने चेतावनी दिनुभयो।

यसअघि देउवा पक्षले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिनै आधिकारिक भएको दाबी गर्दै पत्रकार सम्मेलन गरेको थियो, जसमा पार्टीका पूर्वपदाधिकारी तथा वरिष्ठ नेताहरूको उपस्थिति रहेको थियो।

विधानअनुसारै विशेष महाधिवेशन : कांग्रेस

कांग्रेस प्रवक्ता देवराज चालिसेले भने विशेष महाधिवेशन पार्टी विधानअनुसारै आयोजना गरिएको स्पष्ट पार्नुभएको छ। उहाँका अनुसार विशेष महाधिवेशनका लागि आवश्यक प्रतिनिधिको समर्थन प्राप्त भएको र निर्वाचन आयोगले संविधान तथा कानुनअनुसार निर्णय गरेको हो।

गालीगलौज नगर्न निर्देशन

नवनिर्वाचित केन्द्रीय कार्यसमितिले देउवा पक्षविरुद्ध गालीगलौज तथा अनावश्यक टिप्पणी नगर्न पार्टी पंक्तिलाई निर्देशन दिएको छ। सहमहामन्त्री मुक्ताकुमारी यादवले लोकतान्त्रिक संस्कारअनुसार संयमित र मर्यादित बहस गर्न आग्रह गर्नुभएको छ।

यसैबीच, देउवा पक्षले पूर्वकेन्द्रीय कार्यसमितिका पदाधिकारीको बैठक आह्वान गरेको जनाएको छ।