६ माघ २०८२ , मंगलवार

प्रतिनिधिसभा निर्वाचन तयारीबारे गृहमन्त्री र निर्वाचन आयोगबीच छलफल

News
३ माघ, काठमाण्डौँ ।

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको स्वीकृत कार्यतालिकाअनुसार हालसम्म भए गरेका कामको समीक्षा गर्न गृहमन्त्री ओमप्रकाश अर्याल र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल भएको छ ।

गृहमन्त्री अर्यालले आज निर्वाचन आयोगको कार्यालय, बहादुर भवनमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितका पदाधिकारीसँग भेटघाट तथा छलफल गर्नुभएको हो । छलफलका क्रममा आयोगबाट स्वीकृत निर्वाचन कार्यतालिकाअनुसार सम्पूर्ण तयारी नियमित र योजनाअनुसार अगाडि बढिरहेको जानकारी दिइएको छ ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचन अधिकृतका कार्यालय स्थापना भइसकेको र समग्र निर्वाचन तयारीका हिसाबले ८० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको जानकारी गराउनुभयो । उहाँले आयोगले यही माघ ११ गते राष्ट्रियसभा सदस्य निर्वाचनसमेत सम्पन्न गर्न लागेको उल्लेख गर्दै निर्वाचन आचारसंहिता प्रभावकारी रूपमा कार्यान्वयन गर्न सूक्ष्म अनुगमन प्रणाली अपनाइने बताउनुभयो ।

छलफलमा गृहमन्त्री अर्यालले निर्वाचन सफल बनाउन गृह मन्त्रालय र निर्वाचन आयोगबीच आवश्यक समन्वयका विषय पहिचान गरी सहकार्य गरिने विश्वास व्यक्त गर्नुभयो । उहाँले निर्वाचन तयारीदेखि मतदान प्रक्रिया र मतगणनासम्मको सम्पूर्ण चरणमा एकीकृत सुरक्षा योजनाअनुसार सरकारले पूर्ण सुरक्षा प्रत्याभूति गर्ने स्पष्ट पार्नुभयो ।

त्यस अवसरमा निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ सम्पन्न भइसकेको र अब मतपत्रसहित अन्य निर्वाचन सामग्री सम्बन्धित कार्यालयहरूमा पठाउने चरणमा आयोग प्रवेश गरिसकेको जानकारी दिनुभयो ।