६ माघ २०८२ , मंगलवार

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा पक्ष सर्वोच्च अदालतमा

News
४ माघ, काठमाण्डौँ ।

नेपाली कांग्रेसको गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ। कांग्रेस नेताद्वय शेरबहादुर देउवा र पूर्णबहादुर खड्काका वारेस श्रवणकुमार श्रेष्ठले सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको हो।

सर्वोच्च प्रशासनका अनुसार दर्ता भएको रिटको प्रारम्भिक सुनुवाइ आगामी मङ्गलबार तोकिएको छ। रिटमा निर्वाचन आयोगले गगन थापा नेतृत्वको कार्यसमितिलाई दिएको आधिकारिकता बदर गर्न माग गरिएको छ।

त्यस्तै, यही माघ ६ गतेका लागि तय भएको निर्वाचनका निम्ति उम्मेदवार मनोनयन प्रक्रिया तत्काल स्थगन गर्न र हालै निर्वाचित कार्यसमितिलाई अवैधानिक घोषणा गर्नुपर्ने मागसमेत रिट निवेदनमा उल्लेख गरिएको छ।

रिट निवेदनमार्फत निर्वाचन आयोगको निर्णय संविधान, कानुन र पार्टी विधानविपरीत भएको जिकिर गरिएको छ। यस विषयमा सर्वोच्च अदालतको आगामी आदेशलाई नेपाली कांग्रेसको आन्तरिक विवाद समाधानमा महत्वपूर्ण रूपमा हेरिएको छ।