६ माघ २०८२ , मंगलवार

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकः देउवाबाट अभिभावकीय भूमिका प्राप्त हुने विश्वास

News
३ माघ, काठमाण्डौँ ।

नेपाली कांग्रेसले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवाले लामो समयसम्म पार्टी नेतृत्व गर्दै पुर्‍याउनु भएको योगदानप्रति आभार व्यक्त गरेको छ । शनिबार काठमाडौँमा बसेको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठकले देउवाको भूमिकाको उच्च कदर गर्दै औपचारिक रूपमा धन्यवाद प्रस्ताव पारित गरेको हो ।

पार्टीका प्रवक्ता देवराज चालिसेले बैठकले देउवाले पार्टीमा पुर्‍याउनु भएको योगदानको मूल्याङ्कन गर्दै आभार व्यक्त गर्ने निर्णय गरेको जानकारी दिनुभयो । साथै, पदमा नरहे पनि पार्टीलाई मार्गदर्शन गर्दै आएका नेताहरूबाट आगामी दिनमा अझ सक्रिय अभिभावकीय भूमिका निर्वाह हुने अपेक्षा व्यक्त गरिएको उहाँले बताउनुभयो । बैठकले सत्ताका लागि कुनै पनि अप्राकृतिक गठबन्धन नगर्ने प्रतिबद्धता पनि पुनः दोहोर्‍याएको छ ।

नवनिर्वाचित सभापति गगनकुमार थापाको नेतृत्वमा शनिबार बसेको यो बैठक निर्वाचन आयोगले शुक्रबार थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिक मान्यता दिएपछि सम्पन्न भएको हो । नयाँ बानेश्वरमा बसेको यो बैठक विशेष महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वले मान्यता पाएपछिको पहिलो औपचारिक बैठक हो ।

बैठकले निर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका निर्णयलाई संविधान, प्रचलित कानुन र पार्टी विधानअनुसार मान्यता दिएको स्पष्ट गर्दै यो कसैको जित–हार नभएको जनाएको छ । बैठकको पहिलो निर्णयमा भनिएको छ, “यो विधान र लोकतन्त्रको विजय हो । यस ऐतिहासिक परिवर्तनमा साथ दिने सम्पूर्ण सदस्य, शुभेच्छुक र सहयोगीप्रति केन्द्रीय समितिको यो बैठक हार्दिक आभार व्यक्त गर्दछ ।”

बैठकले सहकार्य र एकताको सन्देश दिँदै फागुन २१ गते हुने निर्वाचनमा सशक्त सहभागिताका लागि सबै नेता–कार्यकर्तालाई आह्वान गरेको छ । निर्णयमा भनिएको छ, “यो समय एकता, सद्भाव र सहकार्यको समय हो । देश–विदेशमा रहेका सबै कांग्रेसजन, सबै तहका समिति तथा भातृ र शुभेच्छुक संस्थालाई नवीन ऊर्जा, अटुट विश्वास र पूर्ण एकताका साथ फागुन २१ को निर्वाचनमा सक्रिय सहभागिताका लागि आह्वान गरिन्छ ।”

त्यसैगरी, विभिन्न कारणले पार्टीबाट निष्क्रिय रहेका तथा पार्टी छाडेका नेता–कार्यकर्तालाई पुनः कांग्रेसमा जोडिन आग्रह गरिएको छ । बैठकले यसलाई पार्टीको नयाँ अध्यायको सुरुआतको रूपमा व्याख्या गर्दै रूपान्तरणको यात्रामा सबैको साथ आवश्यक रहेको निष्कर्ष निकालेको छ ।