राष्ट्रपति रामचन्द्र पौडेलले इसाई धर्मावलम्बीहरूको महान् पर्व ‘क्रिसमस डे’ ले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता तथा राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ।
बिहीबार क्रिसमस डेको अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले यस्ता धार्मिक तथा सांस्कृतिक पर्वहरूले विभिन्न समुदायबीच आपसी सम्मान, समझदारी र ऐक्यबद्धताको भावना अभिवृद्धि गर्न सहयोग पुर्याउने बताउनुभयो।
राष्ट्रपति पौडेलले जारी गर्नुभएको सन्देशमा प्रेम, क्षमा, दया र शान्तिको सन्देश बोकेको यस पर्वले मानवता, समानता र सेवाभावलाई सुदृढ गर्दै सामाजिक एकता कायम गर्न प्रेरणा दिने उल्लेख गर्नुभएको छ। साथै, इतिहास र संस्कृति संरक्षण गर्दै असल आचरण, शान्तिपूर्ण जीवनशैली र भाइचाराको प्रवर्द्धनमा क्रिसमस डेको महत्व रहेको उहाँको धारणा छ।
इसाई धर्मका अनुयायीहरूद्वारा येशु ख्रीष्टको जन्मदिनको स्मरणमा प्रत्येक वर्ष डिसेम्बर २५ तारिखका दिन धार्मिक तथा सांस्कृतिक उत्सवका रूपमा क्रिसमस डे मनाइने गरिन्छ। नेपालमा समेत यस अवसरमा देशका विभिन्न स्थानमा विविध कार्यक्रमहरूको आयोजना गरी पर्व उल्लासपूर्वक मनाउने परम्परा रहेको छ।
शुभकामना सन्देशको अन्त्यमा राष्ट्रपति पौडेलले क्रिसमस डेजस्ता पर्वहरूले सबै नेपालीहरूबीच आपसी विश्वास, प्रेम र एकताको भावना अझ प्रगाढ बनाउन प्रेरणा प्रदान गरोस् भन्ने कामना व्यक्त गर्नुभएको छ।