६ माघ २०८२ , मंगलवार

विश्वकपलाई देशले गर्व गर्न लायक बनाउँछौं : कप्तान रोहित

News
३ माघ, काठमाण्डौँ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले आगामी आईसीसी टी–२० विश्वकपका लागि टोलीको तयारी सन्तोषजनक रहेको उल्लेख गर्दै यसपटक नेपाललाई गर्व गर्न लायक प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत र श्रीलङ्कामा संयुक्त रूपमा आयोजना हुने टी–२० विश्वकपको तयारीका लागि नेपाली टोली आइतबार श्रीलङ्का प्रस्थान गर्दैछ । तयारीकै क्रममा नेपाली टोलीले श्रीलङ्का ‘ए’ टोलीसँग तीन वटा टी–२० अभ्यास खेल खेल्ने कार्यक्रम रहेको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले श्रीलङ्का क्रिकेट बोर्डले प्रतिस्पर्धात्मक र बलियो ‘ए’ टोली उपलब्ध गराउने आश्वासन दिएको जानकारी दिनुभयो । उहाँका अनुसार विश्वकपअघि नेपाली टोलीले भारत र श्रीलङ्कामा गरी कुल १२ दिनको तयारी गर्नेछ ।

कप्तान रोहितले यो तयारी पर्याप्त र प्रभावकारी हुने विश्वास व्यक्त गर्दै यसपटकको विश्वकपमा नेपाली टोलीले उल्लेखनीय प्रदर्शन गर्ने बताउनुभयो । नेपाल प्रिमियर लिग (एनपिएल)पछि केही दिन विश्राम लिए पनि तयारी प्रक्रिया सुखद् रूपमा अघि बढिरहेको उहाँको भनाइ छ । तेस्रो पटक विश्वकप खेल्न लागेको नेपाली टोली अत्यन्त उत्साहित रहेको पनि उहाँले उल्लेख गर्नुभयो ।

अमेरिका र वेस्ट इन्डिजमा सम्पन्न पछिल्लो टी–२० विश्वकपमा पिच ब्याटिङका लागि सहज नहुँदा रन बनाउन कठिन भएको स्मरण गर्दै रोहितले यसपटक वाङ्खडे स्टेडियममा ‘हाइ स्कोरिङ’ पिच हुने अपेक्षा गरिएको बताउनुभयो । यस्तो पिचमा ब्याटरलाई सहज हुने भए पनि बलरहरूले पनि उत्तिकै राम्रो तयारी गर्नुपर्ने उहाँको भनाइ छ । नेपाली टोलीले समूह चरणका चारै खेल वाङ्खडे स्टेडियममै खेल्ने तालिका छ ।

विश्वकपअघि नेपाली टोलीले वाङ्खडे स्टेडियमबाट करिब एक किलोमिटर दूरीमा रहेको बारबोर्न क्रिकेट स्टेडियम (क्रिकेट क्लब अफ इन्डिया) मा दुई अभ्यास खेल खेल्नेछ । यी अभ्यास खेलहरूले वाङ्खडेको कन्डिसनमा अभ्यस्त हुन नेपाली टोलीलाई सहयोग पुग्ने विश्वास गरिएको छ ।

नेपाली टोलीका मुख्य प्रशिक्षक स्टुआर्ट लले भारत र श्रीलङ्कामा हुने अभ्यास चरणले टोलीलाई पूर्ण रूपमा विश्वकप लक्षित रणनीतिमा तयार बनाउने बताउनुभयो । विश्वकप खेल्नु खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोली सबैका लागि गर्वको क्षण भएको उल्लेख गर्दै उहाँले नेपालले गर्व गर्ने विश्वकप हुने अपेक्षा व्यक्त गर्नुभयो । पछिल्ला तीन हप्तादेखि टोली विश्वकपको तयारीमा केन्द्रित रहेको उहाँको भनाइ छ ।