१३ असार २०८२ , शुक्रबार

वीरगञ्जमा लागुऔषधसहित ट्रक चालक पक्राउ

News
१३ असार, काठमाण्डौँ ।

पर्सा प्रहरीले गोप्य सूचनाको आधारमा कार्यवाही गर्दै ३१९ केजी चरेशसहित एक ट्रक चालकलाई पक्राउ गरेको छ। प्रहरी चौकी सिर्सियाका प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक गगन बहादुर शाहीलाई प्राप्त विशेष सूचना अनुसार, काठमाण्डौबाट वीरगञ्जतर्फ आउँदै गरेको प्रदेश २-०३-००१ ख ६३४८ नम्बरको मालवाहक ट्रकमा लागुऔषध चरेश लोड गरिएको थियो।

उक्त सूचना पाएपश्चात् प्रहरी उपरीक्षक गौतम मिश्रको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी सिर्सियाबाट खटिएको संयुक्त टोलीले उक्त ट्रकको खोजतलास गरेको थियो। खोजतलासको क्रममा वीरगञ्ज महानगरपालिका वडा नं. २१ परवानीपुर चोक स्थित सडकखण्डमा रोकी राखेको अवस्थामा ट्रक फेला परेको थियो।

प्रहरीले ट्रक चालक, मकवानपुर थाहा नगरपालिका वडा नं. १२ बस्ने वर्ष ३६ को बुद्धी बहादुर स्याङ्तानलाई नियन्त्रणमा लिएर ट्रकलाई जाँच गर्दा ट्रकको पछाडिको भागमा सेतो प्लाष्टिकको बोराभित्र लुकाएर राखिएको ३१९ केजी चरेश फेला पारेको थियो। साथै, चालक बुद्धी बहादुर स्याङ्तानको साथबाट १ लाख ९२ हजार रुपैयाँ र एक मोबाइल फोन पनि बरामद गरिएको छ।

हाल बुद्धी बहादुर स्याङ्तानलाई नियन्त्रणमा लिई लागुऔषध सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको छ। पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।