आगामी नेपाल प्रिमियर लिग (एनपीएल) सिजनलाई लक्षित गर्दै बिराटनगर किंग्सले आफ्नो नयाँ जर्सी सार्वजनिक गरेको छ। टोलीका अनुसार, नयाँ जर्सीले कोशी प्रदेशको गौरव, शक्ति र सामुदायिक भावनालाई प्रतिनिधित्व गर्दछ।
जर्सीको डिजाइनमा विशेष प्रतीकहरू समावेश गरिएका छन्, जसले बिराटनगरको पहिचान र टोलीको भावनालाई झल्काउँछ। जर्सीका मुख्य विशेषताहरू यस्ता छन्:
सप्तकोशीको प्रवाह: जर्सीको डिजाइनमा रहेका सातवटा रेखाहरूले सप्तकोशी नदीका सात सहायक नदीहरूको प्रतिनिधित्व गर्छन्। जसरी यी नदीहरू मिलेर एक शक्तिशाली सप्तकोशी बन्छन्, त्यसरी नै मैदानमा खेलाडीहरूको एकता र शक्तिलाई यसले दर्शाउने विश्वास टोलीको छ।
साहसका पहाडहरू: जर्सीमा प्रयोग गरिएको त्रिकोणीय प्याटर्नले पहाडको प्रतीकको रूपमा धैर्य, दृढता र सफलताको यात्रालाई झल्काउँछ। सफलताको यात्रा सहज नहुने तर निरन्तर प्रयासले जित निश्चित हुने सन्देश यसले दिने बताइएको छ।
नेतृत्वको प्रतीक: जर्सीको काँधमा रहेको 'एपाउलेट' डिजाइनले नेतृत्व, गर्व र जिम्मेवारीको संकेत गर्दछ। यो जर्सी लगाउने हरेक खेलाडीले आफ्नो सहरको सपना र आशा बोकेको सन्देश यसले दिन्छ।
टोलीले जर्सीलाई ‘द क्राउन वी अर्न’ (The Crown We Earn) को नारा दिएको छ। यो केवल एक पोसाक नभएर टोलीको पहिचान, एकता र भावनाको प्रतीक भएको बताइएको छ। जर्सीको प्रत्येक डिजाइनले खेलाडीका लागि कवच र समर्थकका लागि आशाको ध्वजाको काम गर्ने विश्वास बिराटनगर किंग्सले लिएको छ।