नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली विराटनगर किङ्सले प्रतियोगिताको दोस्रो सिजनका लागि न्युजिल्यान्डका विश्वप्रसिद्ध ब्याट्सम्यान मार्टिन गुप्टिललाई निरन्तरता दिएको छ। टोलीले आइतबार औपचारिक घोषणा गर्दै गुप्टिललाई रिटेन गरेको जानकारी दिएको हो।
आधुनिक क्रिकेटका चर्चित खेलाडी गुप्टिल आफ्नो आक्रामक ब्याटिङ शैली र सीमित ओभरको क्रिकेटमा प्रभुत्व जमाउने क्षमताका लागि विश्वभर परिचित छन्। न्युजिल्यान्डका लागि लामो र सफल अन्तर्राष्ट्रिय करियर बिताएका गुप्टिल आईसीसी विश्वकप र टी-२० विश्वकप जस्ता प्रमुख प्रतियोगिताहरूमा टोलीका महत्त्वपूर्ण सदस्य रहँदै आएका छन्। सन् २०१५ को विश्वकपमा बनाएको अविजित २३७ रनको कीर्तिमानी दोहोरो शतक एकदिवसीय क्रिकेटको अविस्मरणीय प्रदर्शनमध्ये एक मानिन्छ।
हजारौं अन्तर्राष्ट्रिय रन बनाएका गुप्टिलले मैदानमा आफ्नो सीपका साथै शान्त स्वभाव र नेतृत्वदायी क्षमता पनि प्रदर्शन गर्छन्। इन्डियन प्रिमियर लिग (आईपीएल) र क्यारेबियन प्रिमियर लिग (सीपीएल) जस्ता विश्वका प्रतिष्ठित फ्रेन्चाइज लिग खेलेको उनको अनुभवले एनपीएलमा विराटनगर किङ्सलाई थप बलियो बनाउने विश्वास गरिएको छ।
गुप्टिलको उपस्थितिले विराटनगरको ब्याटिङ लाइनअपलाई मजबुत बनाउनुका साथै पावरप्लेमा आक्रामक सुरुवात दिनेछ। इनिङ्सलाई अघि बढाउने र खेल जिताउन सक्ने उनको क्षमता टोलीका लागि महत्त्वपूर्ण साबित हुनेछ।
नेपाली क्रिकेटका समर्थकहरूले नेपालको सबैभन्दा ठूलो क्रिकेट मञ्चमा गुप्टिलको सानदार छक्का र म्याच-जिताउ प्रदर्शन हेर्न पुनः एकपटक उत्सुकताका साथ प्रतीक्षा गरिरहेका छन्।