२५ जेष्ठ २०८२ , आईतवार

भरतपुर मेयरकप फुटबल प्रतियोगिता सोमबारदेखि सुरु हुने

News
२५ जेष्ठ, काठमाण्डौँ ।

भरतपुर मेयरकप फुटबल प्रतियोगिताको दोस्रो संस्करण सोमबारदेखि सुरु हुने भएको छ। पालिकाभित्रका ७५ वटा विद्यालयको सहभागिता रहने प्रतियोगिता चार वटा खेल मैदानमा हुनेछ।

चितवन जिल्ला फुटबल सङ्घको आयोजना र भरतपुर महानगरपालिकाको प्रवर्द्धनमा प्रतियोगिता गर्न लागिएको हो। महानगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयको सहभागिता रहने प्रतियोगिता दुई चरणमा गरिने सङ्घका महासचिव रामहरि ढकालले जानकारी दिएका छन्।

आगामी असार ४ गतेसम्म छनोट चरणका खेल हुनेछन्। ढकालका अनुसार पहिलो चरणबाट २४ वटा विद्यालय छनोट भएर दोस्रो चरणमा पुग्नेछन्। १७ वर्ष मुनिका खेलाडीको सहभागिता रहने प्रतियोगिता ८० मिनेट खेलाइनेछ।

भरतपुर महानगरपालिका–७ मा रहेको कृष्णपुर खेलमैदान, वडा नं १२ मा रहेको रामबेल खेलमैदान, वडा नं १४ को सुन्दरबस्ती खेलमैदान र वडा नं ५ मा रहेको स्मल हेभेन बोर्डिङको खेल मैदानमा पहिलो चरणका खेल हुनेछन्।

भरतपुर मेयरकप फुटबल लिगमा महानगरका एक हजार ४०० भन्दाबढी युवा खेलाडीको सहभागिता रहनेछ। असार १४ गतेसम्म हुने प्रतियोगिता सम्पन्न गर्न रु १२ लाख खर्च हुने अनुमान सङ्घले गरेको छ। प्रतियोगिताको औपचारिक उद्घाटन असार ४ गते हुनेछ।