२२ बैशाख २०८२ , सोमबार

भगवती खत्री केसीलाई पोखरा स्पोट्र्स अवार्डको ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’

News
२० बैशाख, काठमाण्डौँ ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले नवौं पोखरा स्पोट्र्स अवार्ड २०८१ मा ओलम्पियन सुटिङ खेलाडी भगवती खत्री केसीलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान गर्ने भएको छ। खेलकुदमा उनको जीवनभरको योगदानको कदर गर्दै यो सम्मान अर्पण गर्न लागिएको हो।

मञ्चका अध्यक्ष एमबि आस्था मगरका अनुसार, प्रतिभा छनोट समितिले खत्रीको नाम सिफारिस गरेको थियो। उनलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लासहित सम्मान गरिनेछ। बागलुङ निवासी खत्रीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा विभिन्न पदक जितेर देशको नाम उच्च राखेकी छिन्।

उनले नवौं राष्ट्रिय प्रतियोगिता, १२ औँ राष्ट्रिय सुटिङ प्रतियोगिता, प्रथम खुला सुटिङ प्रतियोगिता, चौथो राष्ट्रिय खेलकुद प्रतियोगिता लगायतमा स्वर्ण पदक जितेकी थिइन्। साथै, उनले सिड्नी ओलम्पिकमा राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन्। खत्रीले २०५१ सालदेखि गण्डकी प्रदेशमा सुटिङ प्रशिक्षकको रूपमा निःशुल्क प्रशिक्षण दिँदै आएकी छिन्।

यसअघि यो अवार्ड कृष्ण थापा, खड्गबहादुर रानाभाट लगायतका व्यक्तित्वहरूलाई प्रदान गरिएको थियो। मञ्चले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्टस् अवार्ड आयोजना गर्दै आएको छ। यस अवार्डमा विभिन्न विधामा खेलाडी, प्रशिक्षक, खेलकुद संघसंस्था र पत्रकारहरूलाई सम्मान गरिन्छ। नवौं संस्करणको अवार्ड वैशाख २६ गते पोखरामा आयोजना हुनेछ।