नेपाली तेक्वान्दो खेलाडी अदिश खड्काले अस्ट्रेलियामा भएको २०२५ गोल्डकोस्ट ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन्।
अस्ट्रेलियाको गोल्डकोस्टस्थित करार स्टेडियममा भएको खेलमा अदिशले १७ वर्षमुनि उमेर समूह पुरुष एकल पुम्सेमा स्वर्ण जितेका हुन्। उनले च्याम्पियन हुन ६ दशमलव २३ अङ्क जोडे।
दश दिनको अवधिमा अदिशको यो दोस्रो अन्तर्राष्ट्रिय पदक हो। यसअघि उनले २१औँ वाटा ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको सोही स्पर्धामा रजत जितेका थिए। वाटा ओपन जापानको ओसाकामा अप्रिल २५ देखि २७ तारिखसम्म भएको थियो।
नामी इन्टरनेसनल कलेजमा ११ कक्षामा अध्ययनरत अदिश तेक्वान्दोमा तेस्रो डान प्राप्त खेलाडी हुन्। अदिश जापानबाटै गोल्डकोस्ट ओपन खेल्न अस्ट्रेलिया गएका थिए।