युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले आगामी दिनमा अपाङ्गमैत्री रङ्गशालाको निर्माण गरिने बताएका छन्।
राष्ट्रियसभाको बैठकमा सांसदको प्रश्नको जवाफ दिँदै मन्त्री चौधरीले दशरथ रङ्गशाला, पोखरा र कर्णाली प्रदेशको सुर्खेत रङ्गशाला अपाङ्गमैत्री निर्माण गरेको जानकारी दिए। उनले आगामी दिनमा निर्माण हुने खेलकुदका नयाँ पूर्वाधार र निर्माणाधीन रङ्गशालाहरूलाई अपाङ्गमैत्री बनाइने प्रतिबद्धता व्यक्त गरेका छन्।
पारा खेलका लागि विभिन्न राष्ट्रियस्तरको प्रतियोगिता गराउँदै आएको जनाउँदै मन्त्री चौधरीले पारा खेलाडीहरूको हौसलाका लागि अन्य खेलाडीसरह पुरस्कारको समान व्यवस्थामा गरिने जानकारी दिए। विभिन्न अन्तरराष्ट्रिय प्रतियोगितामा उपाधि जितेका खेलाडीहरूलाई पुरस्कार प्रदान गर्ने विषयमा बजेट अभावको कारण तत्काल प्रदान गर्न नसकेको स्वीकार्दै बजेट व्यवस्थापनको लागि हरसम्भव प्रयत्न भइरहेको उनले बताए।
त्यसअघि जगप्रसाद शर्माले पारा ओलम्पिक खेलमा सरकारले अहिलेसम्म कुनै पनि लगानी नगरेको, देशैभरि एउटा पनि अपाङ्गमैत्री रङ्गशाला बनाउन किन पहल नगरेको भन्ने प्रश्न राखेका थिए।