३१ आश्विन २०८२ , शुक्रबार

एसिसी यु-१६ 'इस्ट जोन' कप: मलेसियाविरुद्ध नेपालले टस जित्यो

News
१९ असार, काठमाण्डौँ ।

एसियाली क्रिकेट परिषद् (एसिसी) पुरुष यु–१६ ‘इस्ट जोन’ कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले घरेलु टोली मलेसियाविरुद्ध टस जितेको छ।

मलेसियाको सेलेङ्गर ट्रफ क्लबमा भएको टसमा नेपाली टोलीका कप्तान विपिनप्रसाद शर्माले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका छन्।

नेपाल समूह ‘ए’ को विजेता र मलेसिया समूह ‘बी’ को उपविजेताको रूपमा सेमिफाइनलमा पुगेका हुन्।

समूह चरणमा नेपालले सङ्गापुर, जापान, इन्डोनेसिया र भुटानलाई पराजित गरेको थियो। मलेसियाले समूह चरणका चार खेलमध्ये तीन खेल जितेको छ। माल्दिभ्स, थाइल्यान्ड र म्यान्मालाई हराएको मलेसिया हङकङसँग पराजित भएको थियो।

अघिल्लो संस्करणमा मलेसियालाई हराउँदै नेपाल च्याम्पियन बनेको थियो। एसिसीको आयोजनामा जारी प्रतियोगितामा नेपालसहित १० राष्ट्र सहभागी छन्।