६ माघ २०८२ , मंगलवार

राष्ट्रियसभाको १९औँ अधिवेशन आइतबारदेखि सुरु, सिंहदरबारमा तयारी पूरा

News
४ माघ, काठमाण्डौँ ।

राष्ट्रियसभाको १९औँ अधिवेशन आइतबारदेखि सुरु हुँदैछ। नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र जेनजी आन्दोलनका क्रममा जलेर ध्वस्त भएकाले यसपटक अधिवेशन सिंहदरबारमा सञ्चालन हुने तयारी गरिएको छ। अधिवेशनको पहिलो बैठक आइतबार बिहान ११ बजे बस्ने बताइएको छ।

अधिवेशनको तयारीका लागि अध्यक्ष नारायणप्रसाद दाहालले शुक्रबार नै कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गर्नुभएको थियो। पहिलो बैठकमा अध्यक्ष दाहालले राष्ट्रपतिबाट अधिवेशन आह्वानको पत्र पढेर सुनाउने र हालै निधन भएका नेपाली कांग्रेसका सांसद बलदेव बोहराप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ।

सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार अधिवेशनका लागि सबै तयारी पूरा भइसकेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिस अनुसार माघ ४ गते राष्ट्रियसभाको अधिवेशन आह्वान गर्नुभएको थियो। गत भदौ ३१ गते राष्ट्रियसभाको १८औँ अधिवेशन सम्पन्न भएको थियो।

यसैबीच, निर्वाचन आयोगले माघ ११ गते राष्ट्रियसभाका १९ सदस्यको निर्वाचनको तयारी पनि पूरा गरेको छ। आयोगका अनुसार राष्ट्रियसभाका एक जना सदस्य निर्विरोध निर्वाचित भइसकेको छ। प्रतिनिधिसभाको निर्वाचनको तयारी पनि अगाडि बढिरहेको अवस्थामा नयाँ सदस्यहरूको सहभागितामा यो अधिवेशनलाई विशेष महत्व दिइएको छ।