पछिल्लो चार वर्षमा नेपालमा चट्याङ लागेर २३७ जनाको मृत्यु भएको छ भने ९०८ जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कोशीको झापादेखि सुदूरपश्चिमको कञ्चनपुरसम्म र कर्णालीको हुम्लादेखि मधेसको धनुषासम्म चट्याङको जोखिम रहेको छ।
प्राधिकरणकी सहसचिव रोशनीकुमारी श्रेष्ठले झापा, उदयपुर र मकवानपुर जिल्ला चट्याङको उच्च जोखिममा रहेको जानकारी दिइन्। २०७८ साउन १ देखि २०८२ जेठ ५ गतेसम्ममा चट्याङका १,११८ वटा घटना भएका छन्, जसमा १,६०७ परिवार प्रभावित भएका छन्। विश्वमा चट्याङबाट हुने विपद् जोखिमका आधारमा नेपाल पाँचौं स्थानमा पर्ने सहसचिव श्रेष्ठले बताइन्।
घरगोठ र अग्ला टावर चट्याङको निशानामा पर्ने र बर्खायाममा कृषिमा काम गर्ने सर्वसाधारण बढी प्रभावित हुने गरेका छन्। कोशी प्रदेशमा चट्याङका घटना बढी हुने गरेका छन् भने मानवीय तथा भौतिक क्षति लुम्बिनी प्रदेशमा बढी भएको छ।
विगत चार वर्षमा कोशी प्रदेशमा चट्याङका २९५ वटा घटना हुँदा ३६६ घर प्रभावित भएका छन्, ५१ जनाको मृत्यु र ८४ जना घाइते भएका छन्। कोशीमा चट्याङका कारण रु १ करोड ६० लाख ४५ हजार ५०० बराबरको धनमालको क्षति भएको छ भने ४२० वटा चौपाया मरेका छन्। लुम्बिनी प्रदेशमा चार वर्षमा १८० वटा चट्याङका घटना हुँदा ५४ जनाको मृत्यु भएको छ भने रु ३ करोड ४९ हजार मूल्य बराबरको भौतिक क्षति भएको छ। लुम्बिनीमा २७६ परिवार प्रभावित, १६५ जना घाइते र ९८ वटा पशुचौपाया मरेका छन्। सुदूरपश्चिममा ३५, मधेसमा २७, बागमतीमा २५, गण्डकीमा २४ र कर्णालीमा २१ जनाले ज्यान गुमाएका छन्। कर्णालीमा २०७, सुदूरपश्चिममा १५८, गण्डकीमा ८४, बागमतीमा ८२ र मधेसमा २८ जना मानिस घाइते भएका छन्।
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक मदन सिग्देलका अनुसार नेपालमा विपद्बाट जनधनको बढी क्षति हुने दोस्रो ठूलो कारण चट्याङ हो। गत चैतदेखि असारसम्मको प्रि–मनसुन र मनसुन अवधिमा चट्याङका घटना बढी हुने गर्छन्, किनकि उक्त अवधिमा वायुमण्डल अस्थिर भएर चट्याङ बन्ने प्रक्रिया बढ्छ। नेपालको भौगोलिक अवस्थाका कारण यहाँ बढी चट्याङ पर्ने गरेको छ।
चट्याङलाई रोक्न नसकिने भए पनि यसबाट हुनसक्ने क्षति ८० प्रतिशतसम्म न्यूनीकरण गर्न सकिने सहप्राध्यापक सिग्देल बताउँछन्। सचेतना नै क्षति न्यूनीकरणको सबैभन्दा प्रभावकारी उपाय हो। विकसित मुलुकको तुलनामा नेपालमा बढी मानवीय तथा भौतिक क्षति हुनुका कारण चेतना र प्रविधिको अभाव रहेको छ। सर्वेक्षणले ८० प्रतिशत मानवीय क्षति कामकाजी मानिस खुला स्थानमा जाँदा भएको पाइएकोले त्यस्तो क्षतिलाई रोक्न सकिने सम्भावना छ। मनसुनका समयमा मध्याह्नपछि बढी चट्याङ पर्ने गरेको र सोही समयमा खेतमा काम गर्ने, घाँस दाउरा गर्ने कार्य हुने भएकाले बढी मानवीय क्षति हुने गरेको छ।
जल तथा मौसम विज्ञान विभागले उदयपुर, पाल्पा र सुर्खेत जिल्लामा चट्याङ पर्दैछ भनेर एक घण्टा अघि जानकारी दिने राडार उपकरण जडान गरे पनि ती राडार हाल बिग्रिएर थन्किएका छन्। ती राडार मर्मतसम्भार गरेर सञ्चालनमा ल्याएमा आधा घण्टादेखि एक घण्टाअघि चट्याङ पर्ने क्षेत्रको बारेमा जानकारी पाउन सकिने जलवायु विज्ञ सिग्देलले बताए। घर तथा ठूला भौतिक संरचना निर्माण गर्दा चट्याङको प्रभाव पर्न नदिने वैज्ञानिक उपकरण जडान अनिवार्य गर्ने हो भने यसबाट हुनसक्ने जोखिमबाट बच्न सकिने उनको सुझाव छ।