२३ बैशाख २०८२ , मंगलवार

दैनिक ५२ करोड लिटर खपत, जान्नुहोस् बियरको रोचक इतिहास: संयोगले जन्मिएको 'दिव्य पेय' देखि मजदुरको तलबसम्म

News
१ बैशाख, काठमाण्डौँ ।

विश्वभर बियर कति पिइन्छ होला? यकिन तथ्यांक नभए पनि विभिन्न रिपोर्टहरूले वार्षिक कारोबारका आधारमा अनुमान लगाउँदा यो आँकडा प्रतिदिन ५२ करोड लिटरभन्दा बढी हुन आउँछ, जसले यस पेय पदार्थको विश्वव्यापी लोकप्रियतालाई दर्शाउँछ। तर, के तपाईँलाई थाहा छ, कुनै बेला मानिसहरू पानीभन्दा बियर पिउनु स्वास्थ्यका लागि सुरक्षित मान्थे?

संयोगवश जन्मिएको पेय
बियरको आविष्कार कुनै योजनाबद्ध जुक्तिले नभई संयोगवश भएको मानिन्छ। इतिहासकारहरूका अनुसार, प्राचीन मानवले जौ वा गहुँ जस्ता अन्न भण्डारण गर्दा वा भिजाएर राख्दा पानी र प्राकृतिक यीस्टको सम्पर्कमा आएर फर्मेन्टेशन (किण्वन) प्रक्रिया सुरु भयो। यस प्रक्रियाले अन्नको स्टार्चलाई चिनी र चिनीलाई अल्कोहलमा परिणत गर्‍यो। सुरुमा यो भोकमेट्ने माध्यम बने पनि यसको मादक प्रभाव थाहा पाएपछि यसले विशेष पेयको स्थान लियो।

प्राचीन सभ्यता र 'दिव्य पेय'
पुरातात्विक प्रमाणहरूले बियरको उत्पत्ति करिब १२ हजार वर्षअघि, खेतीपातीको सुरुवातसँगै, हालको इराक क्षेत्र अर्थात् मेसोपोटामियामा भएको संकेत गर्छ। त्यहाँको सुमेरियन सभ्यतामा बियरलाई 'कास' भनिन्थ्यो र यसलाई 'दिव्य पेय' को दर्जा दिइएको थियो, जुन उनीहरूको दैनिक जीवनको अभिन्न अंग थियो।

मेसोपोटामियापछि प्राचीन इजिप्टमा यसको व्यापक प्रयोग देखिन्छ। करिब ४ हजार ईसापूर्वमा इजिप्टवासीहरूले जौबाट बियर बनाउन सिके र यसलाई 'हेक्ट' नाम दिए। यो राजादेखि रङ्कसम्म सबैको प्रिय थियो। रोचक कुरा त के छ भने, त्यसबेला इजिप्टमा पिरामिड बनाउने मजदुरहरूलाई तलबको रूपमा बियर दिइन्थ्यो, किनकि यसलाई पौष्टिक र ऊर्जा दिने पेय मानिन्थ्यो।

विश्वव्यापी विस्तार
बियरको इतिहास मेसोपोटामिया र इजिप्टमा मात्र सीमित छैन। चीनका पुरातात्विक स्थलहरूमा चामल, मह र फलफूलबाट बनेका प्राचीन पेयका अवशेष भेटिएका छन्। युरोपमा पनि करिब ५ हजार ईसापूर्वदेखि नै बियर बनाउने चलन रहेको प्रमाण जर्मनीको गुफामा भेटिएको जौको बियरको अवशेष सहितको माटोको भाँडाले दिन्छ। यसले देखाउँछ कि बियर विभिन्न सभ्यताहरूमा स्वतन्त्र रूपमा विकसित भएको थियो।

कसरी सुरु भयो पिउने चलन?
मानिसले खेतीपाती सुरु गर्दा भिजेको अन्न फर्मेन्टेड भएको अवस्थामा फेला पारेपछि यसको स्वाद र प्रभावबारे थाहा पाएको मानिन्छ। सुमेरियन सभ्यताको करिब १८०० ईसापूर्वको माटोको ट्याब्लेटमा बियर बनाउने विधि र २० भन्दा बढी प्रकारका बियरबारे उल्लेख हुनुले त्यस समयमा यसको विविधता र लोकप्रियता पुष्टि गर्छ। सुरुमा सुमेरियनहरूले जौको रोटीलाई पानीमा भिजाएर फर्मेन्टेशन गराई 'ब्रेड बियर' बनाउँथे, जुन गाढा हुन्थ्यो। इजिप्टमा भने पातलो बियर पिउने चलन थियो। युरोपमा जौसँगै जडीबुटी र मह मिसाउने चलन थियो।

समयक्रमसँगै बियर सामाजिक जमघट, सत्कार र उत्सवहरूको अभिन्न अंग बन्यो। यसलाई प्राचीन समाजमा सामाजिकीकरण, सम्पन्नता र विश्वाससँग पनि जोडेर हेरिन्थ्यो। आधुनिक शैलीको बियर भने १९औं शताब्दीतिर युरोपेली, विशेषगरी बेलायती प्रभावसँगै विश्वव्यापी भएको मानिन्छ।

यद्यपि, बियरको लामो र रोचक इतिहास भए पनि यसको अत्यधिक सेवन स्वास्थ्यका लागि हानिकारक हुने कुरा बिर्सन नहुने विज्ञहरू बताउँछन्, जसरी हास्यकलाकार मनोज गजुरेलले भन्ने गर्छन्, "मदिरा, स्वास्थ्य र स्वास्नी दुवैका लागि हानिकारक छ।"